अमेरिकाका अनुसन्धानकर्ताहरूले सुङ्घसक्ने क्षमता ह्रास हुने कुराको प्रभाव गम्भीर रहने बताएका छन् । उनीहरूले मुटुले काम नगर्ने, क्यान्सर लाग्ने वा फोक्सोको रोग लाग्ने विरामीमा देखिने मृत्युको सङ्केत भन्दा सुङ्घनसक्ने क्षमतामा देखिने मृत्युको सङ्केत बलियो भएको बताएका छन् ।
कलेजो क्षय हुनु पनि मृत्युको शक्तिशाली सङ्केत भएको देखिएको उनीहरूले बताएका छन् ।
सिकागो विश्वविद्यालयका शल्यचिकित्साका सहप्राध्यापक तथा यस अनुसन्धानका प्रमुख जयन्त पिन्टुले सुङ्घसक्ने क्षमताको ह्रास मृत्युको प्रमुख सङ्केत भएको बताउनुभयो ।
उहाँले सुङ्घसक्ने क्षमताको क्षय मृत्यु प्रत्यक्ष कारण नभए पनि यो केही कुरा निकै खराब भएको र केही क्षति भएको कुराको सङ्केत भएको बताउनुभयो ।
उहाँले आफूहरूले थाहा पाएका कुरा स्वास्थ्य परीक्षणमा उपयोगी हुने र यो बिरामीमा जोखिम पत्ता लगाउने सस्तो उपाय भएको बताउनुभयो ।
सुङ्घसक्ने क्षमताको ह्रासले कसरी मृत्युको सङ्केत दिन्छ भन्ने कुराको प्रक्रिया भने अझै स्पष्ट नभएको बताइएको छ ।
यस अध्ययन प्रतिवेदनका लेखक मार्था म्याक्लिन्टकले सुङ्घसक्ने क्षमता नष्ट भएकै कारण व्यक्तिको मृत्यु नहुने बताउनुभयो ।
पिन्टोले मानवको अन्य ज्ञानेन्द्रीय अङ्गमा हालसम्म सुङ्घसक्ने क्षमतालाई कम मूल्याङ्कन गरिएको बताउनुभयो ।
यो अध्ययन नेसनल सोसियल लाइफ, हेल्थ एण्ड एजिङ प्रोजेक्टले गरेको हो । यसमा ५७ वर्ष देखि ८५ वर्ष उमेर समूहका व्यक्तिलाई समावेश गरिएको थियो ।
अध्ययन सन् २००५ देखि २००६ मा सिकागो विश्वविद्यालयको नेसनल ओपिनियन रिसर्च सेन्टरको समूहले गरेको थियो र यसमा तीन हजार पाँच व्यक्तिको सहभागिता रहेको थियो ।
यसमा सहभागीलाई पाँच विभिन्न गन्ध पहिचान गर्न भनिएको थियो ।
सन् २०१० देखि २०११ सम्म पाँच वर्षको अन्तरालमा ती व्यक्तिहरूमा पुुनः अनुसन्धान गर्दा तीमध्ये ४३० व्यक्तिको मृत्युभइसकेको देखिएको थियो । रासस / एएफपी
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
