'यो हाम्रो तर्फबाट सानो पुरस्कार हो,' कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सावजी भाइ ढोलकियाले भने, 'जसले पाँच वर्षयता सबैभन्दा उत्कृष्ट काम गरे ।' कम्पनीले करिब ५० करोड रुपैयाँ कामदारका नाममा खर्च गरेको एजेन्सीहरूले जनाएका छन् ।
भारतको अमरेली जिल्लाको एक सानो गाउँमा जन्मिएका ढोलकियालाई पढाइ भने पछि 'सु' आउँथ्यो । त्यसैले उनी १३ वर्षको उमेरमा घर छाडेर सुरत भागे । त्यहाँ उनी मजदुरी गर्न थाले । केही समयपछि घरको याद आएर फर्के । बुवाले यही पुरानो रटान दिन थालेपछि फेरि भागे । यस्तो क्रम ३/४ पटक चलिरह्यो ।
अन्तिम पटक भाग्नुअघि आमाले भनेकी थिइन्, 'जहाँ गाए पनि राम्रो काम गर्नु, असल मान्छे बन्नु ।' यही भनाइले उनलाई एक साधुसमक्ष पुर्यायो । साधुलाई सोधे, 'जिन्दगीमा खुसी रहन के गर्नुपर्छ ?'
साधुले १ सय ८ नामको एक मन्त्र दिए र ११ लाखपल्ट जाप गर्न लागए । त्यसपछि भने, 'अब जे गर्न चाहन्छौ, सफल र खुसी हुन्छौ ।' उनमा ठूलो आत्मविश्वास जाग्यो । फेरि उनी काम खोज्दै सुरत पुगे ।
उनले हीराको कम्पनीमा काम गर्ने काम त पाए तर पारिश्रमिक १ सय ७९ मात्र पाउने भए । उनको खानामै १ सय ४० सकिन्थ्यो । बाँकी रहेको ३९ रुपैयाँले के गर्नु ? तर उनीसँगै काम गर्ने साथीको चाहिँ १ हजार २ सय रुपैयाँ थियो । उनलाई त्यसले लालायित बनाउँथ्यो । उनले चार महिना यसरी काम गरे कि मालिक खुसी भएर साथी बराबर नै पारिश्रमिक दिन थाल्यो । उनले १० वर्ष हीरा घिसार्ने उक्त काम गरिरहे ।
केही पैसा जम्मा भएपछि उनलाई पनि कम्पनी खोलेर काम गर्न मन लाग्यो । उनले हरिकृष्ण एक्सपोर्ट नामक कम्पनी खडा गरे, जसको वाषिर्क कारोबार सन् १९९१ मा १ करोड नघिसकेको थियो । सन् २००४ सम्म आइपुग्दा २ हजार १ सय करोड नाघ्यो । उनको कम्पनीले ५० देशभन्दा बढीमा हीरा आपूर्ति गर्छ । सात देशमा आफ्नै आउटलेट छन् र ५ हजारभन्दा बढी सो रुममा उनको हीरा उपलब्ध हुन्छ ।
कसरी काम लिन्छन् ?
ढोलकियाको कामदारबाट काम लिने तरिका अरूको भन्दा अलि भिन्न छ । उनी कामदारलाई कम्पनीमा पाँच वर्ष तालिमका रूपमा काम गराउँछन्, पूरा पारिश्रमिक दिएर । यस अवधिमा उनी आफ्नो ३५ वर्षको हीराको अनुभव कर्मचारीलाई बाँडिसकेका हुन्छन् । उनको के बुझाइ छ भने कर्मचारीलाई आफूभन्दा सक्षम बनाए मात्र कम्पनीले उपलब्धि हासिल गर्न सक्छ ।'
उनी आफ्ना हरेक कर्मचारीको रेखदेख र निगरानीसमेत आफैं गर्छन् । दैनिक अन्तरक्रिया गर्नु र उनीहरूको समस्यालाई नजिकबाट बुझिदिनु नै कम्पनीको उन्नति हो भन्ने बुझेका छन् । उनी हरेका कामदारलाई 'छोरा' झैं मान्छन् र उनीहरूको जरुरत पुग्ने पारिश्रमिक दिन्छन् । यस्तो हुँदा कर्मचारीले कम्पनीबारे मात्र सोच्ने गर्छन् । अहिलेको पुरस्कार पनि यसैको एक अंग हो । यो उपहारले कम्पनीलाई थप उचाइमा पुर्याउने उनको विश्वास छ ।http://www.ekantipur.com/

