Wednesday, October 15, 2014

हिमपातमा परी मनाङ र मुस्ताङमा २४ जनाको मृत्यु

काठमाडौं, आश्विन २९ । हिमपातमा परी मनाङ र मुस्ताङमा गरी २४ जनाको मृत्यु भएको छ । मंगलबार भएको हिमपातमा परी ज्यान गुमाउनेमा १४ जना नेपाली र १० जना विभिन्न देशका पर्यटक रहेका छन् ।

मुस्ताङमा १६ जनाको मृत्यु भएको छ । जसमध्ये ९ जना नेपाली रहेका छन् भने ३ जना पोल्यान्ड, ३ जना इजरायल र १ जना भियतनामी नागरिक छन् ।

अन्नपूर्ण सर्किटमा गएका उनीहरु थोराङपास पार गरेर मुक्तिनाथतर्फ झर्नेक्रममा ५ हजार मिटरको डमक्याम भन्ने स्थानमा आइपुग्दा मंगलबार साँझ हिमपातमा परेको जनाइएको छ । चिसोले कठ्याङग्रिएर उनीहरुको मृत्यु भएको बताइएको छ ।

मुस्ताङबाट १९ जना घाइतेलाई उद्धार गरिएको छ । नेपाली सेनाले हेलिकप्टरबाट घाइतेलाई पोखरा र काठमाडौं ल्याएको मुस्ताङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, मनाङमा ४ जना नेपाली र ४ जना क्यानडेली पर्यटकको मृत्यु भएको छ । मनाङको नार गाविसमा चौंरी चराउन गएका ३ जना नेपालीको हिउँमा परी मृत्यु भएको हो भने फू गाविसमा क्यानडेली र एकजना नेपालीको मृत्यु भएको मनाङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अन्नपूर्ण सर्किटमा गएका १ सय ५० जनाको खोजी भइरहेको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाले उद्धार गरेकामा पाँच जर्मन, पाँच पोलिस र चार इजरायली छन् । मुस्ताङको उपल्लो क्षेत्रमा २ देखि ४ फिट बाक्लो हिमपात भएको छ ।

काठमाडौंका एक्मी इन्जिनियरीङ कलेजका १० जना विद्यार्थीको पनि उद्धार गरिएको छ । सीमा प्रहरी कार्यालय हुम्दीले पूर्वमन्त्री सुरेश मल्लका छोरीसहितको टोलीलाई उद्धार गरेको जनाइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस