Saturday, October 18, 2014

बुढा हिरोहरुले रुनु न हाँस्नु बनायो !

राजेन्द्र कार्की
काठमाडौं, कार्तिक १ – राजधानीको मुटुमा मुटु भई बग्ने पवित्र नदी बागमतीको सरसफाई समेतको विषयवस्तु समेटिएर निर्माण गरिएको चलचित्र “बागमती” अहिले राजधानीका विभिन्न स्थानहरुमा छायांकन कार्य धमाधम भइरहेको छ । चलचित्र निर्माण कार्यका लागि निर्देशक लगायत अधिकांश प्राविधिकहरु दक्षिण भारतबाट मगाइएको छ भने यसका नायकहरु बुढो बाघ भनेर चिनिने शिव श्रेष्ठ र महानायक राजेश हमाल रहेका छन् ।
ठूलो बजेटमा निर्माण हुन गइरहेको यस चलचित्रका प्राविधिकहरु निर्माण कार्यको आधा–आधि समयमा नै निकै दिक्क र तनावमा रहेका छन् । दिक्क हुनु पर्ने कारण चाहिँ यी बुढो हिरोहरु द्वय शिव श्रेष्ठ र राजेश हमाल बनेका छन् ।
उनीहरु निर्धारित समय भन्दा निकै नै ढिलो सेटमा उपस्थित हुने र दिएको समयको केहि दिनसम्म पनि नआउने भएकोले भारतीय प्राविधिकहरु दिक्क मात्र होइन निकै नै तनावमा छन् । निर्देशक सन्नी लगायत संलग्न प्राविधिकहरु सिमित समयका लागि अनुबन्धित भइ चलचित्रको कार्यमा व्यस्त भइरहेका छन् । एकातर्फ ति नायकहरु समयमा नआइदिँदा तयारी अवस्थामा राखिएको सेट कुरेर बस्नुपर्दा दिनहरु पट्यार लाग्दो भएको र निश्चित समयका लागि मात्र कामका लागि आएकाहरु अझै केहि दिन यतै बस्नु पर्ने भएकाले पनि तनावमा रहेका छन् ।

यसको मार प्राविधिकहरुले मात्र होइनन् निर्माताले समेत भोग्नुपर्ने निश्चित छ । सवा करोडको लागतमा निर्माणहुने भनिएको चलचित्र यहि कारण डेढ् करोड पुग्ने अनुमान समेत गरिएको छ ।
भक्तपुर जगदम्बा टावरमा नायकद्वय शिव र राजेशको द्वन्द्वका दृष्यको सुटिङ्ग सम्बन्धि समाचार संकलन गर्न पुग्दा लगभग दिनको २ बजे सेटमा पुग्दा नायक शिव मेकअपमा ब्यस्त थिए । उनलाई त्यस दिनको सुटिङ्गमा समेत विहानको १० बजे बोलाइएको थियो ।
बुढो हिरोहरुको गैरजिम्मेवार र समयलाई ध्यान नदिइरहेको सन्र्दभमा एक भारतीय प्राविधिक भन्छन्, “हामीले के भन्नु नेपालका सुपरस्टार हिरोहरु हुन् । उनीहरुले नै बुझ्नु पर्ने कुराहरु हो । भारतमा यस्तो गैरजिम्मेवार र ढिलासुस्ती गरेमा तुरुन्त निकालिन्छ र अर्को कलाकारहरुलाई अनुबन्धित गरिन्छ । नेपालमा कुनै सिस्टम देखिएन । हामीलाई त रुनु न हास्नु पो बनाइरहेको छ त ।”
साथसाथै महानायक राजेश हमाल समेत दिएको समयको धेरै दिन सेटमा उपस्थित नभएको पनि उनले बताएका छन् ।
नेपाली चलचित्र क्षेत्रमा नाम चलेका र मागे जति दाम दिनु पर्ने कलाकारहरुका कारण कतिपय निर्माताहरु पुनः उठ्न नसक्ने गरी टाँट पल्टिएको यो कुनै नौलो घटना भने होइन ।
चलचित्र बागमतीका अन्य कलकाकारहरुमा केकी अधिकारी बालकलाकार कन्चन ठकुरी, चेतन विकास लगायतका रहेका छन् भने चलचित्रका निर्माता अनिष नापित रहेका छन् ।
www.ratopati.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस