Tuesday, October 28, 2014

लैङ्गकि हिंसा विधेयकमा 'लोग्नेस्वास्नी र सौता' शब्द संशोधन गर्न प्रस्ताव

काठमाडौं, कार्तिक ११ - सांसदहरुले लैङ्गिक हिंसा विधेयकमा 'सौता' र 'लोग्नेस्वास्नी' शब्द परिवर्तनका लागि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संसदमा विचाराधीन लैङ्गकि हिंसा विधेयक माथि परेका ४४ मध्ये अधिकांश संशोधन महिलालाई सम्बोधन गरिने शब्दहरुमाथि परेका हुन् ।

'हामीले महिला अधिकारकर्मी, अधिवक्ताहरुलाई बोलाएर छलफल र अन्तरक्रिया गरिरहेका छौं,' विधायन समितिकी सभापति गंगा चौधरीले भनिन्, 'बिशेष गरी लोग्नेस्वास्नी, सौता, धर्मपुत्र-पुत्री लगायत शब्दहरु संसोधन गर्न प्रस्ताव आएका छन् ।'

६० जना संसोधनकर्ताबाट शब्द र व्यवस्थाहरुमा संसोधन परेको उनले जानकारी दिइन् । शारीरिक यातना तथा यौनजन्य हिंसाको कसूर गर्नेलाई एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना र एकदेखि आठ वर्षसम्म कैद हुने प्रस्ताव विधेयकमा छ । सांसदहरुले उक्त सजाय बढाएर पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना र आठदेखि दश वर्ष कैद हुने व्यवस्था हुनुपर्ने प्रस्ताव राखेका छन् । जरिवाना र कैद थोरैहुँदा पीडक हिंसा गर्न नडराउने भएकाले कारवाहीको ब्यवस्था कडा गर्नुपर्ने संसोधनकर्ता सांसदहरुको भनाई छ ।

सम्पतिमा छोराछोरीको समान हक हुनुपर्ने, भाञ्जाभाञ्जी समेत अपुतालिको हकदार हुन पाउनुपर्ने, 'सौता' शब्दको बदला 'एकभन्दा बढी श्रीमती' राखिनु पर्नेजस्ता संशोधन प्रस्ताव परेका छन् । संशोधन प्रस्तावमाथि बृहत छलफल गरेपछि मात्र शब्य चयन गरिने बिधायन समितिकी सभापति चौधरीले जानकारी दिइन् ।
http://www.ekantipur.com/

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस