Monday, October 27, 2014

पानीसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन

१० कात्तिक, काठमाडौ ।

राष्ट्रपति डा रामवरण यादवले पानीसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनको आज यहाँ एक समारोहबीच उद्घाटन गर्नुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति डा यादवले पानीको व्यवस्थापनसम्बन्धी विश्वव्यापी चुनौतीका विषयमा यस प्रकारको सम्मेलन नेपालमा आयोजना गरिएकामा आयोजकलाई धन्यवाद दिँदै आफू एक चिकित्सक र उपभोक्तासमेत भएकाले पनि ग्रामीण क्षेत्रमा खानेपानीको उचित व्यवस्थापन नहुँदा मानिसमा स्वास्थ्यसम्बन्धी समस्या हुने गरेको बताउनुभयो ।

उहाँले खेर जाने पानीलाई मूल्यवान सम्पत्तिका रुपमा लिएर त्यसबाट कसरी लाभ लिनेभन्ने चिन्तन गर्नाले मुलुकको विकासलाई योगदान पुग्ने भएकाले प्रविधिको सहायताबाट त्यसको उचित व्यवस्थापन गर्न सकिन्छ भन्नुभयो ।
उहाँले यससम्बन्धी अनुसन्धानकर्ताले मानिसका मौलिक ज्ञानलाई पनि समेट्ने प्रकारले निष्कर्ष निकाल्नुपर्नेमा जोड दिँदै सम्मेलनको सफलताको कामना गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेलले अस्पताल भर्ना भएका विरामीमध्ये ५० प्रतिशत अस्वस्थ्य पानी र अखाद्य खानाका कारण हुने गरेको जानकारी दिनुभयो ।
नयाँ प्रविधिको प्रवेशसँगै नेपालमा स्वच्छ पानीसम्बन्धी व्यवसायमा लगानी बढ्दै गएको उल्लेख गर्दै उहाँले खेर जाने पानीलाई पूँजी र शक्तिको रुपमा उपयोग गर्न सकिने धारणा राख्नुभयो ।
सङ्घका अन्तर्राष्ट्रिय अध्यक्ष हाल्मुट क्रोसिसले स्वच्छ पानीबिना स्वास्थ्य जीवनको कल्पना गर्न नसकिने भन्दै सम्मेलनले यस सम्बन्धमा गम्भीर छलफल गर्ने बताउनुभयो ।
पानीसम्बन्धी विज्ञ डा केशव शर्माले खेर जाने पानीसम्बन्धी दिगो उपचार र स्रोतको सुधारमा विश्वव्यापी चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।
चार दिनसम्म चल्ने सम्मेलनमा करिब ४० देशका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा कुल २६ प्राविधिक सत्र सञ्चालन हुनेछन् भने सम्मेलनका सहभागीहरूलाई वागमतीको मुहानमा स्थलगत अवलोकन गराउने कार्यक्रम रहेको आयोजक समितिका डा नवराज खतिवडाले जानकारी दिनुभयो । रासस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस