Saturday, October 18, 2014

बढ्दैछ कुमारी आमा

गुल्मी, कार्तिक १ - दुर्गम गाउँ दर्लिङ ५ की धनी विश्वकर्माको छोराको उमेर १५ पुग्यो । १६ वर्ष पुगेपछि नेपाली नागरिकता बनाउने कानुनी व्यवस्था भए पनि अहिलेसम्म उनका बाबुको पहिचान हुन सकेको छैन । सुरुमा धनीले नै धेरैलाई छोराको बाबु दाबी गरेपछि स्थानीयले समेत पहिचान गराइदिन नसक्दा अहिलेसम्म समस्यामा छन् ।

दर्लिङ २ कै सुस्त मनस्थितिकी एक युवतीको छोरा ६ वर्षको पुग्दासम्म बाबुको पत्तो छैन । बोल्न नसक्ने ती किशोरीलाई कसले बलात्कार गर्‍यो भन्ने पत्तो नलाग्दा छोराको बाबु खोज्नै समस्या परिरहेको छ । यी दुई कुमारी आमाका घटना उदाहरणमात्र हुन् । दर्लिङका विभिन्न गाउँमा मात्र यस्ता आमाहरू ५ जना छन् ।

अन्तर्जातीय विवाहको प्रलोभन देखाउँदै ३ वर्षअघि धुर्कोटबस्तु ३ का रामचन्द्र पाण्डेले १३ वषर्ीय किशोरीसँग शारीरिक सम्बन्ध राखे । किशोरी गर्भवती भएपछि दलितलाई बुहारी स्वीकार्नुपर्ने बाध्यताले पाण्डे परिवारले गाउँ नै छाडेपछि युवती लामो समय अलपत्र परिन् । धेरै समय माइतीमै बसेकी ती किशोरी अहिले ज्योति व्यावसायिक तालिम केन्द्र पोखराबाट तालिम लिएर उतै बसेर बच्चा हुर्काउँदै छिन् ।

बलिथुम ३ की १७ वषर्ीय बिजुली सुनार छिमेकी रामबहादुर श्रेष्ठको प्रेम नाटकमा परिन् । विवाहित श्रेष्ठको सम्बन्धबाट १४ वर्षकै उमेरमा बच्चा जन्म्यो । त्यही बेला गाउँबाट भागेका श्रेष्ठ अझै बेखबर छन् । न्याय माग्दा ज्यान मार्ने धम्की दिएपछि बिजुली गाउँबाट विस्थापित भएर सदरमुकाम आइन् । अधिकारकर्मीको सहयोगमा अदालतबाट श्रेष्ठले मासिक ३ हजार दिनुपर्ने फैसला भयो । अन्तर्जातीय विवाहको प्रलोभनमा परेर शारीरिक सम्बन्ध राख्ने र बच्चा जन्मेपछि छोडा बलिथुममा पनि ३ किशोरी पीडित छन् ।

बुटवलमा बसेर अध्ययन गर्ने क्रममा सामान्य चिनजानकै आधारमा दाङका युवासँग यौन सम्पर्कमा गर्भ रहेपछि खज्र्याङ ८ की अनिता कुँवरलाई कुमारी आमा बन्ने रहर लाग्यो । बच्चा जन्मने बेला घर आएर बच्चा जन्माए पनि समाजमा समस्या पर्ने भएपछि उनले जन्मनासाथ बच्चाको हत्या गरेर खाल्डोमा पुरिन् ।

केही दिनपछि कुकुरले खाल्डोबाट बच्चा निकालेपछि हत्या गरेकै शंकामा प्रहरीले उनलाई पक्राउ गर्‍यो । अनुसन्धानका क्रममा अनिताले प्रहरीमा 'आफू कुमारी आमा बन्ने रहरले नै बच्चा जन्माउन चाहेको तर मरेको जन्मेपछि कसैलाई जानकारी नदिई खाल्डोमा पुरेको' बताएपछि उनी जेल चलान भइन् । जिल्ला कारागारमा अहिले अवैध बच्चा जन्माएर हत्या गर्ने दुई जना छन् ।

प्रेमको नाटकमा परेर बच्चा जन्माउने र बच्चा जन्मेपछि प्रेमी तथा घरपरिवारले नस्वीकार्दा समस्यामा पर्ने किशोरी जिल्लामा झन्डै ३५ जना छन् । उनीहरू अधिकांश दलित परिवारका हुन् । कतिपय दलित भएकै कारण र केही विवाहित प्रेमीले झुक्काएका

कारण पीडित बने । जबर्जस्ती बलात्कृत भएर बच्चा जन्माउनेको संख्या पनि ठूलै छ ।

प्रेमको नाटकमा परेर बाबुविहीनका बच्चा जन्माउनेमा दलित र किशोरीहरू बढी रहेको महिला अधिकारकर्मी कमला बरालले बताइन् । 'यति नै भन्ने कुनै तथ्यांक नभए पनि पीडित कुमारी आमाहरूको संख्या जिल्लामा दर्जनभन्दा बढी छ,' बराल भन्छिन्, 'केहीले अधिकारकर्मीको पहलबाटै न्याय पाए पनि अधिकांशको अवस्था दयनीय छ ।' प्रहरी नायव उपरीक्षक हिमालयकुमार श्रेष्ठले बाबु पत्ता नलागेका मुद्दा प्रहरीमा खासै नभएको बताए ।

'जबरजस्ती करणीका थुप्रै मुद्दा छन्,' श्रेष्ठले भने, 'तर बाबु नै पत्ता नलागी कुमारी आमा बनेका मुद्दा हामीकहाँ एक/दुईमात्र छन् ।' उजुरी परेकालाई अदालतमार्फत न्याय दिलाएको पनि श्रेष्ठले बताए ।ekantipur.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस