Saturday, November 22, 2014

बासी खाना खुवाउने तीन होटेल बन्द

काठमाडौं : यात्रुलाई बासी र गुणस्तरहीन खाना तथा खाजा बिक्री गर्ने राजमार्गका तीन होटेल सञ्चालनमा सरकारले रोक लगाएको छ। चितवनको रामनगरस्थित गीताञ्जली होटेल, रक्षा होटल र गंगालक्ष्मी होटेल सञ्चालनमा वाणिज्य तथा आपूर्ति विभागले बिहीबार रोक लगाएको हो।

विभागले रामनगर, जुगेडी, मुग्लिन र बैरेनीस्थित होटेलहरूको अनुगमन गरेको थियो। विभागका प्रवक्ता पुरुषोत्तम सुवेदीका अनुसार चार स्थानका १५ वटा होटेल तथा रेस्टुराँको अनुगमन गरिएको थियो।

विभागले रामनगरस्थित गीताञ्जली, सोही स्थानको रक्षा, गंगालक्ष्मी, धादिङस्थित होटेल नमस्ते नेपाल, जुगेडीस्थित एलिना र हाइवे फुड मार्ट, सोही स्थानको श्रीनगर, भूमेस्थानको होटेल कान्तिपुर, कुरिनटारको जिन होटेल र जोशी रेस्टुरेन्ट, मुग्लिनको अब्दुला, रुपसी, जोमसोम भान्छाघर, होटेल नौलो थकाली र चितवन होटेलमा अनुगमन गरेको थियो।

यीमध्ये तीनवटा होटेल सञ्चालकले सरसफाइमा ध्यान नदिएको, यात्रुसँग चर्को मूल्य असुल गरेर पनि बासी र गुणस्तरहीन खाद्य पदार्थ खुवाएको तथा सरकारी निर्देशन पालना नगरेकाले सञ्चालनमा रोक लगाइएको हो।

'खाद्यपदार्थको गुणस्तर सुधार गर्न तथा बिक्रीमूल्य राख्‍न पटकपटक निर्देशन दिए पनि अटेर गरेकाले होटेल सञ्चालनमा रोक लगाएका छौं', प्रवक्ता सुवेदीले भने। उनका अनुसार अघिकांश होटेलको भान्छाघर फोहोर र खाने कुरा गुणस्तरहीन भेटिएको छ।

सामान्य त्रुटि भएका अन्य होटेललाई पनि सुधार गर्न र केहीलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। भान्छाघरमा काम गर्ने कामदारलाई अनिवार्य रूपमा एप्रोन लगाउन, मूल्यसूची राख्न, भान्छाघरको सरसफाइमा ध्यान पुर्‍याउन र व्यवसाय दर्ता गर्न निर्देशन दिइएको छ।

चितवनको रामनगरस्थित गीताञ्जली होटेल, रक्षा होटल र गंगालक्ष्मी होटेल सञ्चालनमा वाणिज्य तथा आपूर्ति विभागले रोक लगाएको हो।

यसअघि गत असोजमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि राजमार्गका होटल तथा रेस्टुराँको अनुगमन गरेको थियो। अनुगमनका क्रममा एक सय ६५ मध्ये १५ वटा होटेल मात्रै मापदण्डअनुसार उत्कृष्ट ठहरिएको भन्दै स्तरीकरणको आधारमा स्टिकर उपलब्ध गराइएको थियो।

उत्कृष्ट होटेललाई हरियो स्टिकर उपलब्ध गराइएको थियो। हरियो स्टिकर पाउनेमा रामनगर-जुगेडी सडक खण्डका राइट प्यालेस होटेल, तीर्थबाबा होटेल तथा जुगेडीको कान्तिपुर होटेल छन्। यसैगरी नवलपरासी-थुम्सी सडक खण्डका न्यु घुम्टो तन्दुरी होटेल, पाल्पाली ढिँडो होटेल, हेरिटेज कटेज तथा रेस्टुरेन्ट, पाते ढिँडो रेस्टुरेन्ट तथा होटेल साकुरालाई पनि हरियो स्टिकर उपलब्ध गराइएको थियो।

यस्तै मुग्लिङका ७५ वटामध्ये थ्री सिस्टर, जोमसोम, रूपसी, नवदुर्गा, डाँफे र थकाली होटेल तथा मलेखुका ४० मध्ये एकमात्र पिस हेभेन होटेललाई यस्तो स्टिकर प्रदान गरिएको छ। बाँकीलाई मध्यमस्तर, न्यूनस्तर र खराब स्तर जनाउने स्टिकर प्रदान गरिएको थियो।

उत्तमलाई हरियो (क वर्ग), सुधार आवश्यक रहेको मध्यम स्तरलाई पहेंलोमा एउटा रातो धर्का (ख वर्ग), न्यूनस्तर तथा खतरापूर्णलाई पहेंलो वृत्तमा दुईवटा रातो धर्का (ग वर्ग) र होटेल नै बन्द गर्नुपर्ने अवस्थालाई रातो वृत्त भएको (घ वर्ग) स्टिकर वितरण गरिएको थियो।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस