Sunday, December 7, 2014

बिहेमा हिडेकी युवतीको छुरी हानी हत्या


काठमाडौं, मंसिर २१ - साथीको बिहेमा हिंडेकी एक युवतीको राजधानीमा छुरी हानी हत्या भएको छ । मैतीदेवीस्थित 'एफ एण्ड एफ' छात्राबासमा बस्दै आएकी २० वर्षीया रितु महासेठलाई शनिबार दिउँसो एक युवकले छुरा प्रहार गरेका थिए ।

टिचिङ अस्पतालमा उपचार गर्दा गर्दै राति ९ बजे उनको निधन भएको हो । अस्पतालले रितुको शरिरमा ७ ठाउँमा छुरा लागेको जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख पुस्कर कार्कीले गंभिर घटना भएको बताउँदै त्यसमा संलग्नको खोजी भइरहेको बताए । 'घटना घटेको खबर पाए लगत्तै अनुसन्धानमा जुटेका छौं' उनले भने 'चाडै अपराधीलाई पक्राउ गर्छौ ।'

प्रहरीले कसैसँगको प्रेम सम्बन्धकै कारण युवतीको हत्या भएको हुनसक्ने अनुमान गरेको छ । साथै रहेका साथीले दिएको बयानका आधारमा युवतीले कसैको प्रेमबाट अलग भएकै कारण घटना घटेको हुनसक्ने अनुमान गरेको छ । 'युवतीसँग चिनजान नभएकाले अचानक बीच बाटोमा छुरा झिकेर हान्दैन' महानगरीय प्रहरी आयूक्त कार्यालयका एक प्रहरी अधिकृतले भने 'युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेको झोंकमा छुरा हानेको हुनुपर्छ ।'

होस्टल सञ्चालिका शारदा भट्टराईका अनुसार महासेठ पछिल्लो दुई वर्षदेखि उक्त होस्टलमा बस्दै आएकी थिइन्् । धेरै नबोल्ने स्वभाबकी महासेठ कान्तिपुर कलेजमा बीबीए पढ्दै थिइन्् ।

ऋतुका काका वीरेन्द्र महासेठका अनुसार, उनी पछिल्ला चार वर्षदेखि राजधानी बस्दै आएकी थिइन्् । सुरुवाती एक बर्ष फुपाजुको घरमा बसेकी उनी त्यसपछि छात्राबासमा बस्न थालेकी थिईन्् । महासेठले भतिजीले केही कुरा आफन्तलाई नबताएका कारण यस्तो घटना घटेको बताए । 'केटाले धम्की दिइरहेको कुरा आज मात्र उसका साथीले बताएपछि थाहा भयो' उनले भने 'पहिला नै बताएकी भए त्यो केटालाई खोजेर प्रहरीमा उजुरी गरेर यो घटना हुनबाट जोगाउँथ्यौं ।'  जनकपुर घर भएकी ऋतु परिवारकी जेठी छोरी हुन् । बुवा शम्भु महासेठले खेतीकिसानी गरेर कमाएको रुपैयाँ ऋतुलाई खर्च पठाइदिने गरेका थिए ।  

 दिनदहाडै राजधानीका सडकमा युवति माथि भएको छुरा प्रहारको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध जनाएको छ । मधेश केन्दि्रत ६ राजनितीक दलको संयूक्त मोर्चाको आइबार बसेको बैठकले सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै विरोध जनाएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का सहमहामन्त्री जितेन्द्र सोनारले राजधानीका सडकमा भएको यो घटनाले तराईबासीलाई आतंकित बनाएको बताए ।

'तँ धोकेबाज भन्दै छुरी हान्यो'

हाम्रै होस्टलमा बस्दै अाएको एक जना दिदीको बिहेमा जान म र रितु दिदि निस्किएका थियौं । सारी लगाएर होस्टलबाट निस्किएका थियौं । होस्टलको म्याडमले हामीलाई सारी लगाइदिनु भएको थियो । होस्टलबाट बाहिर निस्किएर धोबीखोला करिडोर अनामनगर तर्फ आउनै लाग्दा करिडोरको पेटीमा एउटा केटो उभिएको थियो । रितु दिदी उसलाई देखेर झस्किनु भयो । केहि क्षण उभिनु भयो । मैले त किन उभिएको पनि थाहा पाइन् । कलेजी रङको सारी लगाउनु भएकी दिदी सारी लगाएको फोटो खिच्ने कुरा गर्दै हुनुहुन्थ्यो । त्यसको अघि पुग्दा केटाले छुरी झिकेर 'तँ धोकेबाज' भन्दै हान्न थाल्यो । हामी चिच्यायौं । हामीसंगै क्याम्पस जान लागेकी कञ्चन साहलाई मैले होस्टलमा म्याडमलाई बोलाउन पठाएँ । त्यसले दिदीको दुबै छाती, पेट, हात जहाँ पायो त्यहि अन्धाधुन्द हान्यो । बचाउन गुहार मागेको कसैले मदत गरेन । वरपर थुप्रै मान्छे त थिए, तर कोही मदत गर्न आएन । त्यो केटा भाग्न थालेपछि भने एकजना बृद्ध मान्छे 'त्यो केटाले छुरी हानेको छ समात' भन्दै पछाडी दौडिए । त्यो केटो हाम्रै होस्टलको छेउबाट भाग्यो । त्यो केटालाई शनिबार भन्दा अघि कहिल्यै देखेको थिएन । दिदीले पनि त्यस्तो कुरा कहिल्यैं सुनाउनु हुन्न थियो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस