Friday, December 5, 2014

राजधानी मालेमा पानीको सङ्कट, भारतले विमानबाट पानी पठायो

एजेन्सी माले, मंसिर १९

माल्दिभ्सको राजधानी मालेमा पानीको अभाव भएपछि सरकारले त्यहाँ राष्ट्रिय विपत्ती घोषणा गरेको छ।

वाटर ट्रिटमेन्ट प्लान्ट बन्द भएपछि मालेका एकलाख भन्दा बढी जनता पिउने पानीको अभावमा छन्।

यसरी पानीको विपत्ती आएपछि भारतले माल्दिभ्सका लागि सेनाको हेलिकोप्टरबाट त्यहाँ पानी पु¥याइदिएकोा छ।

त्यहाँका आर्थिक विकासमन्त्री मोहम्मद शरीफका अनुसार अहिले सरकारले मालेलाई राष्ट्रिय विपत्ती घोषणा गरेको छ र पानी सहयोगका लागि भारत, श्रीलङ्का, चीनलगायतका देशहरूसँग आग्रह पनि गरेको छ।

हिन्द महासागरमा रहेको यो द्वीपमा पिउने पानीका लागि कुनै प्राकृतिक स्रोत छैन। त्यसका लागि समुद्रको पानी फिल्टर गरेर व्यवस्था गरिएको थियो।

तर, बिहीबार आगो लागेपछि मालेमा पानीको सङ्कट देखा परेको थियो । यो विश्वको सबैभन्दा बढी जनघनत्व भएको स्थानमध्ये एकमा पर्छ । उक्त प्लान्टमा आगलागी भएपछि सरकारले त्यहाँका जनताका लागि बोत्तलमा पानी वितरण गरेको थियो।

तर, अन्य प्रयोजनका लागि पानी नभएपछि त्यहाँका नागरिकलाई अहिले सास्ती भएको छ।

मालेमा रहेका भारतीय राजदूत राजीव शहारेका अनुसार भारत सरकारले पाँचवटा ठूला मालबाहक विमानबाट त्यहाँ पानी पुर्‍याएको छ। पानी फिल्टर गर्नका लागि फिल्टर प्रविधियुक्त समुद्री जहाज पनि त्यहाँ पठाइएको छ।

उक्त प्लान्ट फेरि जडान गर्नका लागि अझै केही दिन लाग्ने बताइएको छ। किनकी त्यसका लागि सामानहरू विदेशबाट मगाउनुपर्छ।

समुद्रको सतहभन्दा तल्लो तहमा रहेको मालेमा वर्षाको पानी जोगाउने प्रभावकारी प्रणाली रहेको जानकारी दिइएको छ। यसो भए पनि यहाँ जमिन मुनिको पानी खान तथा भाडा माझ्न प्रयोग गर्न सकिन्न। यसैले स्थानीय बासिन्दा प्रशोधित पानीमा भर पर्छन्।

शुक्रबार अपराह्नसम्म पनि नगरका धेरै भागमा खानेपानीको अभाव देखिएको छ। स्थानीय आमसञ्चारले स्थानीय बासिन्दाले पानी प्राप्त गर्न पसलमा आक्रमण गरेको जानकारी दिएका छन्। पसलेहरूले पनि खानेपानी बोतल सीमित रूपमा वितरण गरिरहेको बताएका छन्। राजधानीका होटेलहरूले खानेपानीको आपूर्ति निकै कम भएको जानकारी दिएका छन्।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस