Wednesday, November 5, 2014

'नेपाली गहनाको बुट्टै राम्रो'

काठमाडौ, कार्तिक १९ - नेपालमा सुटिङ भएको हिन्दी फिल्म 'हरे राम हरे कृष्ण' सानैमा हेरेपछि उनलाई यता आउने रहर जागेको थियो । तर मौकै मिलेन । जब केही महिनाअघि एउटा कार्यक्रमका लागि निम्तो पाइन्, बलिउड अभिनेत्री रविना टण्डनको मन थामिएन । कति पनि नसोची उनले आयोजकलाई भनिन्, 'ओके ।'

'खासमा भन्ने हो भने म नेपाल आउन निकै आतुर थिएँ,' निम्तो पछ्याउँदै मंगलबार काठमाडौं उत्रेकी रविनाले भनिन्, 'त्यसको लागि मात्रै मौका खोजिरहेकी थिएँ ।' सन् १९९१ मा 'पत्थर के फूल' बाट बलिउड डेब्यु गरेर 'दिलवाले', 'मोहरा', 'खिलाडियों का खिलाडी', 'जिद्दी' जस्ता हिट फिल्म दिएकी यी अभिनेत्री नेपाली गरगहना प्रवर्द्धनका लागि आएकी हुन् । राजधानी आएलगत्तै दरबार मार्गस्थित होटल याक एन्ड यतीमा आयोजित पत्रकार भेटघाटमा देखा परेकी पूर्व मोडलले आफू नेपालप्रति 'निकै एक्साइटेड' रहेको खुलाइन् ।

'नेपाली गरगहनाका कारण आज तपाईंहरूमाझ छु, सानैदेखिको सपना आज पूरा भयो,' उनले भनिन् । नेपाल रत्न तथा आभूषण संघको आयोजनामा बुधबार याक एन्ड यतीमा हुन लागेको 'ग्रान्ड फेसन सो' का लागि रविना र्‍याम्पको मुख्य आकर्षण बन्नेछिन् । र्‍याम्पमा उनी नेपाली मौलिक गहनासाथ देखा पर्नेछिन् । एक्स्पो संयोजक शक्तिकुमार बेगानीका अनुसार रविनाले ८० फिट लामो र्‍याम्पमा क्याटवाक गर्नेछिन् । उनीसँगै नेपाली सेलिब्रेटी र मोडलहरू पनि प्रस्तुत हुनेछन् ।

भारतीय समनान्तर फिल्महरूमा समेत 'सिरियस' भूमिकाका लागि प्रशंसा कमाएकी रविनाले मोडलिङसँगै तेलुगु, कन्नड र तमिल फिल्महरूमा पनि उत्तिकै वाहवाही कमाएकी छन् । 'मोडलिङ, फेसन र अभिनय यी तीन पक्ष एकअर्काका परिपूरक जस्तै हुन्,' उनले सुनाइन् ।

 क्लोज नेकमा ब्ल्याक लङ टप्स लगाएकी रविना पत्रकार सम्मेलनमा ह्वाइट गोल्डपहिरनमा सजिएकी थिइन् । सञ्चारकर्मीमाझ आफ्नोभन्दा पनि बढी उनले गहनाकै कुरा गरिन् । 'हरेक महिलाको लागि गहना सुन्दरताको प्रतीक त हो नै,' उनी भन्दै थिइन्, 'त्यसमा पनि लगानीका दृष्टिले समेत यो व्यवसाय फस्टाउँदै गएको छ ।' दुई सन्तानकी आमा समेत रहेकी ४० वर्षीया रविनाले आफ्ना छोराछोरीको बिहेका लागि अहिले देखिनै गहना संकलन गर्न थालेको पनि खुलाइन् । 'गहना सुन्दरता मात्रै होइन, उचित लगानी पनि हो,' उनले भनिन्, 'मेरा छोराछोरीको बिहेको लागि अहिलेदेखि सचेत छु ।'

गहनाले सुन्दरतामा के प्रभाव पार्छ भन्ने प्रश्नमा चाहिँ रविनाले निकै कूटनीतिक जवाफ दिइन् । 'मान्छेको आन्तरिक सुन्दरता नै खास सुन्दरता हो,' उनले भनिन्, 'गहना त नारी सौन्दर्यको प्रतीक मात्रै हो ।'

नेपाल घुम्न आउनका लागि धेरै कारक भए पनि 'बुद्ध जन्मिएको देश भएकाले आफ्नो बढी नै झुकाव रहेको' उनले बताइन् । 'समय अभावले गर्दा यस पटक बुद्धको जन्मथलो लुम्बिनी जान नपाए पनि यहाँका प्रख्यात गुम्बा र स्तूपहरूमा चाहिँ अवश्य पुग्नेछु,' उनले भनिन् ।

भाषा, संस्कृति र जीवनशैलीका दृष्टिले पनि भारत र नेपालबीचको सम्बन्ध अत्यन्त निकट रहेको बताउँदै उल्लेख गर्दै रविनाले नेपालको गहना प्रवर्द्धनमा आफूले सक्दो सहयोग गर्ने पनि बताइन् । 'म र्‍याम्पमा उत्रिन मात्रै आएकी हैन,' उनले भनिन्, 'सपिङ गर्न पनि आएकी हुँ । केही मन पर्ने गहना किनेर लैजान्छु । नेपाली गहनाको बुट्टा मलाई निकै मन पर्छ ।'

केही समयअघि बलिउड स्टार जरिन खान र एजाज खान पनि डिजाइनर विशाल कपुरको पहिरन प्रमोसनका लागि नेपाल आएका थिए । गहना एक्स्पोमा भने ३५ ज्वेलरी कम्पनीले भाग लिने संयोजक शक्तिकुमारले बताए । संघले आउँदो २१ गतेदेखि 'नेपाल जेम्स एन्ड ज्वेलरी एक्स्पो २०१४' समेत गर्न लागेको जनाएको छ ।http://www.ekantipur.com/

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस