Thursday, October 23, 2014

यसरी गर्छन व्यवसायीले लक्ष्मीपूजा

काठमाडौं : केही वर्ष अगाडिसम्म मारवाडी व्यवसायीको नयाँ खाताको सुरुवात लक्ष्मीपूजाको दिनबाट सुरु हुन्थ्यो। आर्थिक वर्ष साउनदेखि सुरु भएपछि लक्ष्मीपूजाको दिनबाट नयाँ खाता सुरु गर्ने प्रचलन हराउँदै गएको छ। तर, यसैदिन मारवाडी व्यवसायीले मनाउने लक्ष्मीपूजाको रौनकता भने घटेको छैन।

साउनदेखि आर्थिक वर्ष सुरु हुने भएपछि लक्ष्मीपूजाको दिन नयाँ खाता प्रयोग गर्ने प्रचलन हराउँदै गएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका बताउँछन्। 'केही व्यवसायीले अहिले पनि नयाँ कारोबारको सुरुवात लक्ष्मीपूजाको दिनदेखि गर्ने गरेका छन्' मुरारका भन्छन्,'हाम्रो समूहमा भने खाताको पूजामात्र हुन्छ कारोवारको सुरुवात भने हुँदैन।'

धनकी देवी लक्ष्मीका उपासक व्यवसायीको लागि लक्ष्मीपूजाको महत्त्व अन्य पर्वको तुलनामा निकै महत्त्व राख्ने हुन्छ। यसै पनि सामान्य मानिसदेखि सबै अहिलेको पुँजीवादी समाजमा पैसा पछाडि नलाग्ने कोही पनि छैन। पाँचदिन मनाइने तिहारमा लक्ष्मीपूजाको महत्त्व सबैको लागि विशेष हुने गरेको छ।

नेपाल विद्युत् प्राधिकरणले तिहारमा गरिने दीपावलीमा रोक लगाउने खालको सूचना जारी गरेपछि पनि ठूला सपिङ मल डिपार्टमेन्ट स्टोरदेखि आवासीय घरमा दीपावलीका लागि भएको तयारीमा कुनै कमी आएको छैन। यतिबेला बजार तिहारको रौनकले भरिएको छ।
आर्थिक वर्ष साउनदेखि सुरु भएपछि लक्ष्मीपूजाको दिनबाट नयाँ खाता सुरु गर्ने प्रचलन हराउँदै गएको छ। तर, यसैदिन मारवाडी व्यवसायीले मनाउने लक्ष्मीपूजाको रौनकता भने घटेको छैन।
ग्रामीण क्षेत्रका सानो बजारदेखि सहरी क्षेत्रमा रहेको ठूला डिपार्टमेन्ट स्टोर र पसलको कारोबार तिहारमय भएको छ। तिहारको पाँच दिनमा मनाइने लक्ष्मीपूजा धूमधामसँग मनाउने तयारीमा लक्ष्मी उपासक व्यवसायी तयारीमा व्यस्त छन्।

यसको पूर्वतयारीका लागि आफ्नो कार्यकक्षको सफाइको काम पनि सकिएको अवस्था छ। हिन्दु धर्म मान्ने सानादेखि ठूला व्यवसायीको पैसा राख्ने लकरमा लक्ष्मीको फोटोसँगै राखिएको हुन्छ।

एचपी अग्रवाल गुप्रका निर्देशक मनीषकुमार अग्रवाल लक्ष्मीपूजाका लागि गृहनगर वीरगन्ज जाने तयारीमा छन्। 'हाम्रो सबै परिवार वीरगन्जमा जम्मा भएर लक्ष्मीपूजा मनाउने तयारी छ', उनले भने, 'व्यवसायका लागि जहाँ पुगे पनि लक्ष्मीपूजा मूलघर वीरगन्जमा हुने गरेको छ।'

नेपालका अग्रणी व्यावसायिक समूहमा मारवाडी र नेवार समुदायको उपस्थिति बलियो छ। व्यवसायमा लागेका हिन्दु धर्म मान्ने सबैका लागि लक्ष्मीपूजाको महत्त्व बढी भए पनि मारवाडी व्यवसायीले भने लक्ष्मीपूजा विशेष रूपले मनाउने गरेका छन्।

अरू चाडपर्वभन्दा मारवाडी परिवारका लागि लक्ष्मीपूजा विशेष हुने महासंघका वरिष्ठ उपाध्यक्ष मुरारका बताउँछन्। 'मुख्य काम व्यवसाय भएपछि व्यवसायी धनकी देवी लक्ष्मीका उपासक बासक हुन्' उनले भने,'परिवारमा दु:ख परेको कारण यो वर्ष लक्ष्मीपूजा ठूलो उत्सवको रूपमा हुँदैन। परिवारमा नभए पनि भेटघाटमा यो समयमा व्यस्त हुने योजना छ।'

मारवाडी परिवारको जस्तो ठूलो उत्सव लक्ष्मीपूजामा अन्य परिवारका व्यवसायीबीच नभए पनि पूजाको तयारी कम भने छैन। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ कार्यालय तथा घरमा लक्ष्मीपूजा गर्ने तयारीमा छन्। 'कार्यालयमा लक्ष्मीपूजा गरेपछि मात्र घरमा लक्ष्मीपूजा हुन्छ।', उनले भने, 'घरमा लक्ष्मीपूजा सकिएपछि भोजको कार्यक्रम हुने गरेको छ।'

लक्ष्मी समूहका अञ्जन श्रेष्ठ काठमाडौंमा रहेको कार्यालयमा दिउँसो लक्ष्मीपूजा गरेपछि गृहनगर पोखरा जाने योजनामा छन्। 'समूहका सदस्य जहाँ भए पनि लक्ष्मीपूजा मनाउन पोखरा पुग्ने गरेका छौं',उनले भने,'विशेष केही योजना नभए पनि परिवारका साथमा लक्ष्मीपूजा बनाउने योजना छ।'

लक्ष्मीपूजाका लागि ठूलो तयारी नगरेर सामान्य तरिकाबाट पूजा गर्ने सोचमा व्यवसायी शेखर गोल्छा छन्। 'कार्यकक्षमा हुने सरसफाइ तथा मेरो कार्यकक्षको सामान लक्ष्मीपूजाको दिन फेरिने गरेको छ' उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रहेका गोल्छाले भने,'पूजापछि मेरो समय साथीभाइसँग रमाइलो गरेर बित्छ।' विभिन्न व्यावसायिक समूहले दसैंबाट गरेका व्यवसाय विस्तारका योजना पनि तिहारको समाप्तिपछि सकिने तयारीमा रहेका छन्।
annapurnapost.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस