Sunday, October 26, 2014

बर्षमानले बनाए प्रचण्डको हत्या योजना



नेकपा–माओवादीका नेता अनिल शर्मा ‘विरही’ले प्रचण्डको हत्या प्रयास असफल भएको दावी गरेका छन् ।
उनले वर्षमान पुन ‘अनन्त’ले भारतको इशारामा पार्टी नफुट्दै आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हत्या गर्न खोजेको दावी गरेका हुन् ।

जनआस्था साप्ताहिकमा लेख लेखेर विरहीले नेकपा एमालेका शीर्ष नेताहरुको कारण त्यो षड्यन्त्र असफल भएको दावी गरेका छन् ।’कट्वाल माथिको कारवाही,पहिलो चीन भ्रमण,किरण पक्षसँग एकता आदि प्रचण्ड हर्कतका कारण भारतले आफूहरुलाइ धोका भएको ठान्न थाल्यो । अन्तिम विकल्प भनेको प्रचण्डको सफाया हो भन्नेमा र पुग्यो । त्यसका लागि अनन्तलाइ तयार पारियो ।

विरहीले जनआस्थामा लेखेका छन – ‘नेपालको रक्षा र गृहमन्त्रालयले त्यसका लागि सहयोग गर्नुपर्ने शर्त आएपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग रका प्रतिनिधिहरुले प्रस्ताव राखे । त्यस विषयमा माधव नेपाल,केपी ओली र झलनाथ खनालकाबीचमा छलफल भयो । त्यो छलफलपछि एमाले नेताहरुले एमाले बदनाम हुने र राजनीतिमा अपराधीकरण हुने निष्कर्ष सहित प्रचण्डको सफायामा सहयोग नगर्ने भए ।

प्रचण्डको हत्या गर्ने योजना असफल भएपछि वर्षमान पुन अनन्तले प्रचण्ड र भारतको आफूमाथिको विश्वास कायमै रहोस भनेर हत्याको अर्को योजना बनाएको र त्यो पाकिस्तानसँग जोडिएको दावी गरेका छन् । पाकिस्तानले जमिम शाह मार्फत प्रचण्डको हत्या गर्दैछ भनेर हल्ला चलाइ अनन्तले जमिमको हत्या गराउन पूर्व लडाकूको टोली परिचालन गरेपनि लडाकू टोलीले जमिम प्रचण्डको विरुद्धमा नलागेको स्पष्ट हुँदै त्यतिकै फर्केको उल्लेख गरेका छन् । तर जमिमका पछि हत्या भएपनि त्यसबारेमा भने विरहीले केही बोलेका छैनन् । विरहीले व्यवसायी रामहरि श्रेष्ठको हत्या पनि अनन्तले गराएको दावी गरेका छन् ।

‘त्यसबेला का. विविधको निवास रामहरि श्रेष्ठको घरमा थियो । रक्तचन्दन,,यार्सागुम्बा तस्करी, जाली नोट कारोवार,जमिम शाहको हत्या प्रयास यी सबै कुकर्म रामहरि श्रेष्ठकै घरमा भएका थिए । रामहरिलाइ ती सबै थाहा थियो । पूर्व एमाले कार्यकर्ता श्रेष्ठ धेरै जसो षडयन्त्रमा सहभागी थिए ।’ अनिल शर्मा विरही लेखेका छन् – अब रामहरि अनन्तका लागि खतरा भए । त्यसपछि ‘नरहे बाँस नबजे बाँसुरी’ भने झै उनी रामहरिलाइ सफाया गर्ने सोंचमा पुगे । उनले प्रचण्ड समक्ष हतियार र पैसा चोरेको आरोप लगाए । त्यसपछि प्रचण्डसँग सिफारिस लिएर रामहरिलाइ चितवन पुर्याउन लगाए । त्यहीँ यातना दिएर रामहरिको हत्या भयो ।’ विरहीले अनन्त प्रचण्डको मान्छे नभइ बाबुरामको मान्छे भएको र बाबुराम र उनीबीचको विरोध देखावटी मात्रै भएको समेत दावी गरेका छन् ।

रातो सूर्य डटकमबाट

http://tato-khabar.blogspot.co.il/2014/

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस