Friday, November 7, 2014

दाइजो कम ल्याएको निहुँमा महिलाको हत्या गर्ने एकै परिवारका आठ जना पक्राउ

२१ कात्तिक, मोरङ ।
दाइजो भने जति नल्याएको निहुँमा महिला सदस्यको हत्या गर्ने एकै परिवारका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको बुधनगर–४ का ६० वर्षीय महेन्द्र शर्मासहित सात जनालाई ३२ वर्षीया मीरादेवी शर्माको हत्या आरोपमा इलाका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ४० वर्षीय देवानन्द शर्मा, ३५ वर्षीय चन्दन शर्मा, ३० वर्षीय दीपक शर्मा, २५ वर्षीय प्रकाश शर्मा, १६ वर्षीय पङ्कज शर्मासहित महिला सदस्य बिन्दा र सरितादेवी शर्मा छन् ।

पक्राउ पर्नेमध्ये महेन्द्र शर्मा हत्या गरिएकी सदस्य मीरादेवीका ससुरा, बिन्दादेवी सासु र चन्दन शर्मा श्रीमान् हुन् । देवानन्द जेठाजु र सरितादेवी जेठानी हुन् । प्रकाश र पङ्कज चाहिँ देवर हुन् ।

उनीहरूले दाइजो कम ल्याएको निहुँमा छठ पर्वको समयमा कात्तिक १० गते साँझ मीरादेवीलाई कुटपिट गरी हत्या गरेका थिए । उनीहरूले घटना लुकाउन मीराको शव भारतीय भूमिका लगेर जलाएका थिए ।

घटना सार्वजनिक भएपछि प्रहरीले पहिले सासू बिन्दा र जेठानी सरितादेवीलाई पक्राउ गरेको थियो । फरार भएका अन्यलाई भने भारतीय प्रहरीको सहयोगमा बुधबार विराटनगर–२२ मटेर्वा क्षेत्रबाट पक्राउ गरिएको इप्रका रानीका निरीक्षक ओमप्रकाश खनालले जानकारी गराए ।

भारत विहार राज्यको अररिया जिल्लाको बथनाह माइती भएकी मीराको १२ वर्ष पहिले बुधनगर–४ का चन्दन शर्मासँग विवाह भएको थियो । मीरालाई परिवारले दाइजो कम ल्याएको भन्दै निरन्तर दुःख दिँदै आएका थिए ।

पक्राउ गरिएका आरोपितलाई मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यानअन्तर्गत म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
 http://nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस