Tuesday, November 11, 2014

एमबीए नायिका


नेपाली चलचित्रमा अहिले चल्तीकी नायिका हुन्, केकी अधिकारी। शिक्षित कलाकारको अभाव खट्किरहेका बेला उनले एमबीए (मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन) पूरा गरी आफ्नो करिअरमा नयाँ आयाम थपेकी छन्। सम्भवत: उनी एमबीए गर्ने पहिलो नेपाली नायिका हुन्। अध्ययनप्रतिको लगावबारे अन्नपूर्णकर्मी अशोकप्यासी राईसँग उनले आफ्नो अनुभूति पोखेकी छन् : 

काठमाडौं : मैले अभिनय क्षेत्रमा लाग्ने इच्छा व्यक्त गरेपछि आमाबुवाले अध्ययनलाई सँगै लैजान सक्छौ भने हुन्छ भन्नुभयो। उहाँहरूको पहिलो सर्त नै पढाइ बिगार्न हुन्न भन्ने थियो। तिमी राम्रो र नराम्रो छुट्याउनसक्ने भइसकेकी छौ, त्यसैले पढाइ छाडेर जीवनको कुनै बिन्दुमा पछुताउनु नपरोस् भन्नुभयो। म सानैदेखि पढाइमा तेज भएकाले यसमा सम्झौता गर्ने कुरै भएन। मैले एमबीए गर्नु त्यसैको प्रतिफल हो।

शिक्षाले जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई पहिलेदेखि नै लाग्थ्यो। पढेपछि जागिरै खानुपर्छ भन्ने होइन। त्यो कुरालाई अन्य क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ भन्ने मेरो बुझाइ हो। जस्तो अहिले म नायिका। जीवनभर नायिका भएर काम गर्न सक्दिनँ। त्यसपछि के गर्ने त? तर, मसँग शैक्षिक योग्यता छ भने जे पनि गर्न सक्छु। त्यो आँट शिक्षाले नै दिने हो।

छोरीलाई एकदमै योग्य बनाउने चाहना आमामा छ। त्यो कुराले मलाई सधैं प्रोत्साहित गरिरहन्छ। यो उमेरमा अभियनसँगै एमबीए (मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन) पूरा गरेर आमबुवाको सपना साकार बनाउन पाएकोमा खुसी छु। अध्ययन र अभिनय एकसाथ अगाडि बढाउनु सजिलो थिएन। तर, मैले दुवैलाई उत्तिकै प्राथमिकतासाथ लगेँ, सम्झौता गरिनँ। शतप्रतिशत लगावका साथ अघि बढेँ।

मेरो बुझाइमा एमबीए साँच्चिकै जीवनोपयोगी छ। यो विषयबाट मैले पाएको ज्ञान अभिनय क्षेत्रमा प्रयोग गर्दै अगाडि बढ्न सक्छु। चलचित्र उद्योग योजनाबद्ध र सही व्यवस्थापनका साथ अगाडि बढ्न सकेको छैन। व्यवस्थापन हरेक क्षेत्रमा आवश्यक छ। त्यो ज्ञान र क्षमता पढेको मान्छेमा हुन्छ।

हुन त एमबीए गर्नु मलाई खासै ठूलो विषय लाग्दैन। तर, नातेदार, चलचित्रकर्मी, विभिन्न जमघटमा 'तिमी त नेपाली चलचित्रमा एमबीए गर्ने पहिलो नायिका' भनेर प्रशंसा गर्छन्। आफन्तले पनि 'चलचित्र क्षेत्रमा क्रियाशील हुँदाहुँदै मास्टर्स डिग्री गर्‍यौ, गौरव लाग्छ' भनेर स्याबासी दिन्छन्। यसरी सबैबाट प्रशंसा र स्याबासी पाउँदाचाहिँ मलाई गौरव लाग्छ।

सानैदेखि मेरो पढाइ राम्रो थियो। कक्षा १ मा हुँदा दोस्रो भएको थिएँ, त्यसपछि कहिल्यै दोस्रो भइनँ। विज्ञान र गणित मलाई मन पर्ने विषय हुन्। सामाजिक, इतिहासमा भने त्यति रुचि थिएन। मिति कण्ठ गर्नुपर्ने भएकाले गाह्रो लाग्थ्यो।

एसएलसीमा मैले जिल्ला टप गरेको थिएँ। प्लस टुमा ९६ प्रतिशत ल्याएँ। विज्ञान मलाई मन पर्ने विषय भएकाले पनि परिणाम राम्रो आएको हो। राम्रो विद्यार्थी भएकाले सबैले डाक्टर बन्नुपर्छ भनेपछि एमबीबीएसको तयारी कक्षामा लागेँ। तर, परीक्षा दिने बेलासम्ममा मैले इन्फरमेसन म्यानेजमेन्ट पढ्ने निर्णय गरेँ। त्यसैले डाक्टर बन्ने कुरा मबाट टाढा भइसकेको छ। अब यो पर्दामा अभिनयमात्रै सम्भव छ।

कतिपयमा जागिर खान, प्रमाणपत्र प्राप्त गर्नमात्रै पढ्ने भन्‍ने गलत बुझाइ देखिन्छ। तर, शिक्षा भनेको अनुशासन हो। यसले सम्भावनालाई फराकिलो बनाइदिन्छ। आत्मविश्वास बढ्छ। कुनै व्यवसाय कसरी अगाडि लैजाने भन्ने दक्षता प्राप्त हुन्छ। के सही, के गलत छुट्ट्याउने सामथ्र्य दिन्छ। त्यसैले हरेक व्यक्तिले कहिल्यै सम्झौता गर्न नहुने विषय हो, शिक्षा।
- See more at: http://annapurnapost.com/News.aspx/story/2223#sthash.X7mUJObx.pJy7giZG.dpuf

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस