Wednesday, November 12, 2014

औषधि बेच्नुअघि २० मिनेट परामर्श अनिवार्य

काठमाडौं : औषधि बिक्रीवितरण व्यवस्थित र भरपर्दो बनाउन सरकारले औषधि बिक्रीवितरण संहिता २०७१ जारी गरेको छ। जथाभावी औषधि बेच्दा बिरामीको स्वास्थ्यमा नकारात्मक असर परेको गुनासो आइरहेका बेला सरकारले यस्तो आचारसंहिता जारी गरेको हो। 

चिकित्सकले लेखिदिएको पुर्जी (प्रेस्क्रिप्सन) मागेर हतारहतारमा औषधि बिक्री गर्ने पसलेहरू औषधि खाने विधि सिकाउने कर्तव्य आफ्नो हो भन्ने ठान्दैनन्। औषधि व्यवस्था विभागले सोमबार जारी गरेको संहिताअनुसार अब सम्पूर्ण औषधि पसलले कुनै पनि बिरामीलाई औषधि बेच्दा सेवन गर्ने तरिकाबारे पर्याप्त जानकारी (कम्तीमा २० मिनेटको परामर्शपछि) गराउनुपर्नेछ।

संहिताअनुसार प्रेस्क्रिप्सनबिना जथाभावी औषधि बिक्री गर्ने व्यक्तिको लाइसेन्स खारेज गर्न सकिनेछ। विभागका महानिर्देशक गजेन्द्रबहादुर भुजूले औषधिको दुरुपयोग नहोस् र बिरामीले पर्याप्त स्वास्थ्यलाभ लिन सकून् भन्‍ने उद्देश्यका साथ औषधि पसलको परामर्श सेवा र प्रेस्क्रिप्सनलाई संहिताले प्राथमिकता दिएको बताए।

संहिताअनुसार कुनै पनि औषधिपसलका फर्मासिस्टहरूले बिरामीलाई आराम गर्ने व्यवस्थासहितको छुट्टै कोठा निर्माण गरी औषधि सेवन विधि, अवधि, समय, साइड इफेक्टलगायतका विषयमा जानकारी गराउनपुर्नेछ।
 औषधि व्‍यवस्था विभागले जारी गरेको  संहिता अनुसार  अब सम्‍पूर्ण औषधि पसलले कुनै पनि बिरामीलाई  औषधि बेच्‍दा सेवन गर्ने तरिकाबारे  पर्याप्त जानकारी (  कम्‍तिमा २० मिनेटको पर्याप्‍त जानकारीपछि)  गराउनुपर्नेछ। प्रेस्क्रिप्‍सनबिना जथाभावी औषधि बिक्री गर्ने व्‍यक्तिको लाइसेन्‍स खारेज गर्न सकिनेछ ।
'सेवन गर्ने समय, तरिका, मात्रा नमिले बिरामीका लागि औषधि पनि कहिलेकाहीं विष साबित हुन सक्छ, त्यही भएर हामीले औषधि बिक्री गर्ने व्यक्ति र बिरामी सचेत हुनुपर्छ भन्नेमा जोड दिएका हौं', भुजूले भने, 'जसलाई संहिताले बाध्यकारी तुल्याइदिएको छ।' संहिताले औषधि पसलमा मुख्य फर्मासिस्ट वा तालिम प्राप्त व्यक्तिले तोकिएको पोसाक र परिचयपत्र लगाएर औषधि बिक्री गर्नुपर्ने प्रावधान अनिवार्य गरेको छ।

औषधि बेच्दा सुरक्षितसाथ प्याक गरी बोधपत्र लगाउनुपर्ने र यस्तो बोधपत्रमा औषधिको नाम, शक्ति, बनोट, मात्रा, ब्याच नम्बर, म्याद सकिने मिति, सेवन एवं सञ्चय निर्देशन, वितरण मिति र औषधि पसलेको परिचय खुलेको हुनुपर्नेछ।

संहितामा औषधि पसल कम्तीमा एक सय २० वर्ग फिट क्षेत्रफलमा रहेको पक्की भवनमा राखिनुपर्ने र औषधि सञ्चय गरिने ठाउँमा सोझै प्रकाश नपर्ने, पानी नचुहिने वा ओस नलाग्नेलगायत हुनुपर्ने व्यवस्था छ। संहिताले औषधि पसलको भौतिक पूर्वाधार, गुणस्तर, भण्डारण, खरिद एवं मौज्दात व्यवस्थापनलगायतमा पनि सीमा तोकेको छ।

औषधि ऐन २०३५, औषधि दर्ता नियमावली २०३८ लाई टेकेर पहिलोपटक जारी गरिएको संहिताले जथाभावी औषधि बिक्री गर्ने निरुत्साहित हुने दाबी भुजूले गरे। हाइलाइट औषधि बेच्दा सुरक्षितसाथ प्याक गरी बोधपत्र लगाउनुपर्ने र त्यसमा औषधिको नाम, शक्ति, बनोट, मात्रा, ब्याच नम्बर, म्याद सकिने मिति, सेवन एवं सञ्चय निर्देशन, वितरण मिति र औषधि पसलेको परिचय खुलेको हुनुपर्नेछ।
 at: http://annapurnapost.com/News.aspx/story/2249#sthash.YCCMabOu.LI2SiME8.dpuf

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस