Saturday, November 8, 2014

श्रीमतीले पोल खोलेपछि थप ५१ लाख भेटियो

काठमाडौं, कार्तिक २२ - अख्तियारले पक्राउ गरेका नासु हरिवंश कार्कीकी श्रीमती लक्ष्मी लम्साल कार्कीले पोल खोलेपछि ५१ लाख नगदसहित भन्सारकै अर्का नासु सुरेश थपलिया पक्राउ परेका छन् ।

सुन तस्करी काण्डका भारतीय अभियुक्तलाई छोड्ने योजनासहित चलेको घुसखोरीमा करिव ७२ लाख रुपैयाँ सहित ६ जना पक्राउ परेका छन् ।

अख्तियार टोलीले शुक्रवार साँझ नासु कार्कीसहित दुई भन्सार एजेन्ट र एक सवारीचालकलाई २१ लाख रुपैयाँ घूससहित पक्राउ गरेको थियो । त्यसक्रममा अख्तियारले नियन्त्रणमा कार्कीकी पत्नि लक्ष्मीलाई नियन्त्रणमा लिएको थियो । 'पक्राउ परेपछि उनले बाँकी रकम सुरेश सर (थपलिया)को घरमा छ भनी बताइदिएपछि थप रकम भेटिएको हो,' अख्तियारस्रोतले भन्यो, 'एक करोडभन्दा बढी रकमबाट मोलमोलाई भएर शुक्रवार नै ७२ लाख रुपैयाँको लेनदेनको तयारी गरेको देखिन्छ ।'

थप केही व्यक्तिमाथि अनुसन्धान थालिएको अख्तियारले जनाएको छ । सुन तस्करीको आरोपमा पक्राउ परेका एक भारतीय नागरिकलाई छुटाइदिने प्रलोभन सहित उनीहरुले घूस मागेका थिए । शुक्रवार भन्सार एजेन्टद्वय प्रेम अधिकारी र देवराज भट्टराई पक्राउ परेका थिए । दुवै खोटाङका हुन् ।

घूस लिने क्रममा प्रयोग भएको बा ६ च ७८७४ नम्बरको सरकारी स्कोर्पियो गाडी र एजेन्टहरुले प्रयोग गरेको बा १० च ४०७५ नम्बरको गाडी टोलीले बरामद थियो । सवारी चालक पुरुषोत्तम थापालाई पनि अख्तियारले हिरासतमा लिएको छ ।

गैर कानूनीरुपमा सुन ओसारपसार गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक अभिशेक सरकारका आफन्तलाई उनीहरुले रकम दिए छुटाइदिने प्रलोभन दिएको उजुरी परेको थियो ।

धुम्बाराहीस्थित मुनलाईट पार्टी प्यालेसबाट शुक्रवार साँझ उनीहरु २१ लाख ४० हजार सहित पक्राउ परेका थिए । अरु रकम सुब्बा थपलियाको घरमा भेटिएको अख्तियारले जनाएको छ ।http://www.ekantipur.com/

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस