Sunday, November 2, 2014

संसार छोडेकी आमा खोज्दै बालक

विराटनगर : सुनसरीको खनार ४ का ७ वर्षीय विष्णु लुइँटेललाई मकवानपुरको बसामाडी मा बस दुर्घटनामा परेर आफ्नी आमा (३१ वर्षीया) शान्ता लुइँटेलको मृत्यु भएको दु:खद घटनाका बारेमा थाहा छैन। घटनाको दुई दिनसम्म पनि यस विषयमा उनलाई जानकारी दिइएको छैन।

उनी आमा खोज्दै छट्पटाइरहेका छन्। शान्ताको मृत्युको खबर पाएर आइतबार खनारस्थित घरमा पुगेका आफन्त, नातेदार र परिवारका अभिभावकलाई विष्णु मेरो मामु (आमा) खोइ, मलाई किन फोन गर्नु हुन्न, मामु कहिले आउनु हुन्छ? भनेर जिज्ञासा राखिरहेका थिए। उनलाई अब आफ्नी आमासगँ कहिल्यै पनि भेट हुँदैन भन्ने कुरा थाहा छैन।

घटनाका बारेमा अभिभावक कसैले पनि जानकारी नगराउँदा उनी आफ्नी आमा आउने प्रतिक्षामा छन्। ममु भोली बिहान घर आइपुग्ने भन्नु हुन्थ्यो अझै सम्मपनि आउनु भएन भन्दै उनी दुखेसो पोखिरहेका छन्। जे नहुनु थियो त्यो भइगयो, घटनाका बारेमा जानकारी गराउँदा नाबालकको मस्तिस्कमा झन असर पर्छ भनेर अहिलेसम्म जानकारी गराइएको छैन, विष्णुका ठूलो बुबा दीपक लुइँटेलले भने। जन्मिएदेखि आमाको साथ नछाडेका उनलाई अभिभावकले आमा आउने आश देखाएर सम्झाइराखेका छन्।

म भोली बिहान घर आइपुग्छु, राम्रोसँग बस्नु है भनेर अघिल्लो दिन ( शुक्रबार बेलुका) छोरासंँग फोनमा कुरा गरेर काठमाडौंबाट खनारतर्फ हिंडेकी शान्ताको घर नआइपुग्दै बीच बाटोमै शनिबार बिहान करिब २ बजेतिर भएको बस दुर्घटनामा परेर मृत्यु भयो।

शान्ता पति ३७ वर्षीय हेमसागर (शान्तिराम) लुइँटेलसँगै ना ४ ख ५४४८ नम्बरको शुभश्री यातायातको बसमा काठमाडौंबाट खनारस्थित आफ्नो घर फर्किदै थिइन्। शुभश्रीका चालकले इलामबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४८४१ नम्बरको मेट्रो डिलक्स बससगँ ठोक्काएर गराएको दुर्घटनामा परेर शान्ताको घटना स्थलमै मृत्यु भएको हो। घटनामा परेर पति हेमसागर सामान्य घाइते भएका छन्।

परिवारका सदस्यहरू घटनाका बारेमा कसैलाई केही पनि भन्न सक्ने अवस्थामा छैनन्। लुइँटेल परिवारमा सन्नाटा छाएको छ। परिवारमा रुवाबासी चलेको छ। सबैका आँखाबाट आँसुका धारा बगिरहेका छन्। 'बुहारी साह्रै असल र भद्र थिइन', जेठाजु दीपकले भने, 'राम्रा मान्छेलाई कालले पनि छानी छानी लैजादो रहेछ।'

शान्ता र पति हेमसागर चार वर्षदेखि काठमाडौंको सुनधारामा भाडामा सटर लिएर किराना पसल संचालन गरेर बस्दै आएका थिए। छोरा विष्णु पनि काठमाडौंमा उनीहरूकै साथमा थिए।

नौ महिनाअघि हेमसागर बैदेशिक रोगजारीका लागि दुबई गएपछि शान्ताले काठमाडौंको पसल एक्लै चलाउँदै आएकी थिइन। दुबईमा काम गर्ने कम्पनीले हेमसागर सहित ७० जना कामदारलाई निकालिदिएपछि उनी दसैंअघि घर फर्किएका थिए। शान्ता र हेमसागर दुवैजनाले काठमाडौंको पसल बेचेर खनारस्थित घर फर्किएर घरपायक रहेर काम गर्ने सल्लाह गरेका थिए।

सल्लाअनुरुप छोरा विष्णुलाई केही दिनका लागि हजुरबा हजुरआमासगँ घरमा ल्याएर राखेपछि काठमाडौंको डेरामा रहेको सामान लिन उनीहरू गत मंगलबार मात्र काठमाडौं गएको दीपकले बताए। डेरा छाडेर आफ्ना सबै सामान लिएर फर्कने क्रममा दुर्घटनामा परेर चालकको पछाडी पट्टीको सिटमा बसेकी शान्ताले यो संसार छाडेकी हुन्। काठमाडौं जानु अघि शान्ता खनारस्थित गृह लक्ष्मी सहकारी र हेमसागर सोनापुरको प्रगति टेक्सटायल नामक उद्योगमा कार्यरत थिए।

उनीहरूले पुरानै काममा फर्कने सल्लाह गरेर काठमाडौं छाडेको परिवारले जनाएको छ। 'काठमाडौंबाट फर्किएर खनार नै जानुपर्छ भन्ने सल्लाह गरेर काठमाडौं छाडेका थियौं', हेमसागरले भने, 'काठमाडौं मात्रै हैन शान्ताले मलाई एक्लै छाडेर यो संसारबाट बिदा भइन।' मोरङको अमरदह माइत भएकी शान्ता र हेमसागरबीच २०६३ जेठ ३ गते मागी विवाह भएको थियो। शान्ताको शव क्षतविच्छेद अवस्थामा रहेका कारण घरसम्म ल्याउन नसकिएपछि मकवानपुरमै दाहसंस्कार गरिएको परिवारले जनाएको छ।

साहु नविन रेग्मीसगँ झगडा र रिसिइवीका कारण चालक रोषण तामाङले आफूले चलाएको काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको ना ४ ख ५४४८ नम्बरको शुभश्री यातायातको बसलाई इलामबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४८४१ नम्बरको मेट्रो डिलक्स बससगँ ठोक्काएर दुर्घटना गराएका थिए। दुर्घटनामा परेर शान्ता,एक विदेशी नागरिक सहित १० जना यात्रुले ज्यान गुमाउनु परेको छ।
annapurnapost.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस