Tuesday, December 9, 2014

ज्ञानेन्द्रले क–कसलाई भेटे दिल्लीमा ?

काठमाडौं,मंसिर २३ – भारत भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सत्तारुढ भारतीय जनता पार्टी ( भाजपा)का शीर्ष नेताहरुसित भेटवार्ता गरेका छन् ।
उनले कात्तिक २१ गते देखि १ मंसिरसम्म भारत भ्रमण गरेका थिए । भाजपाका संगठन विभाग प्रमुख डा. दिनेश उपाध्यायका अनुसार ज्ञानेन्द्रले २३ कात्तिकमा भारतीय प्रधानमन्त्री मोदीसित भेटवार्ता गरेका हुन् । छलफलका विषयबारे भने उनले विस्तृतमा बताउन चाहेनन् । भाजपा अध्यक्ष अमित शाह,बरिष्ठ नेता लालकृष्ण आडबाणीलगायतसित पनि पूर्वराजा ज्ञानेन्द्रले छलफल गरेको उपाध्यायले बताए । आजको नयाँ पत्रिका दैनिक आफ्नो खबरको अगाडि लेख्छ – ०६६ मा गुजरात जाँदा मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए । ज्ञानेन्द्र निकटस्थहरुका अनुसार उनीहरुबीच व्यक्तिगत सम्पर्क र सम्बन्ध छ । ज्ञानेन्द्र काठमाडौं फर्केपछि नेपाल आएका भाजपा नेता उपाध्याय र राष्ट्रिय स्वयंसेवक संघका नेता उपानन्द ब्रह्मचारीले उनलाई भेटेका थिए । उपाध्यायले नयाँदिल्ली र काठमाडौंमा पूर्वराजासँग लामो भेटवार्ता गरेका थिए । यसैबीच,पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणबाट फर्किएपछि राजावादीहरु सक्रिय भएका छन् । भारत राजसंस्थालाई स्पेस दिन तयार रहेको उनीहरुको बुझाइ छ । भ्रमणका क्रममा भारतीय नेताहरुसित भएको कुराकानीबारे पूर्वराजाले निकटस्थहरुलाई विस्तृततमा जानकारी दिएका छैनन् । तर पनि उनको हाउभाउको आधारमा राजावादीहरुले पनि भारत राजसंस्थालाई स्पेस दिन तयार रहेको अर्थ लगाउँदै अभियान चलाएका छन् । www.ratopati.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस